रणनीति-पत्र

महिला विकासका क्षेत्रमा काम गर्नाको अर्थ अक्सर सबथोक नै लाग्दछ । प्रथमतः महिलाले आधाआधी आकाश थामेका हुन्छन् र त्यसपछि विकाससँग असम्बन्धित भनेर अङ्कितै गर्न सकिने प्रभावकहरू विरलै भेटिन्छन् । त्यसकारण महिला तथा बालबालिका विभागको अभिप्राय प्राप्तिमा के गर्ने, अझ के नगर्ने, भन्ने छनौट मूलभूत हुन्छ ।

विभागको रणनीति—पत्रले सञ्चालक विचारका साथै कामकुराका अधार पक्षहरू दर्साएको छ । रणनीतिसँगै लक्षित समूह न्यूनतम सशक्तीकरणको स्तरकार्यान्वयनको तहबह त्यसमा प्रस्ट्याइएका छन् । प्रगतिका मापकसमेत त्यहीँ दिइएका छन् ।

ग्रामीण महिलाको सशक्तीकरण जताततै परिवर्तन ल्याउने कार्यकारण भएकाले ध्यान उनीहरूमै कायम राखिएको छ । रणनीति—पत्र भने बालअधिकार संवर्धनको पनि हो । धेरैजसो महिलाको सशक्तीकरण र बालअधिकारको प्रचलन सँगसँगै हुने गर्दछन् । जहाँ हुँदैनन् त्यहाँ मूलप्रवाहीकरण हस्तक्षेपका माध्यमबाट बालअधिकारका मुद्दाहरूको सम्बोधन गर्ने व्यवस्था रणनीति—पत्रमा छँदैछ ।

यदाकदा आलोचकहरूले महिला र बालबालिकाका लागि छुट्टाछुट्टै गरेर दुइटा रणनीति—पत्रको आवश्यकता पनि औँल्याएका हुन्छन् । परन्तु,  एकातिर गरी अर्कातिर परिवर्तन ल्याउने नै रणनीतिक कार्य हुने हुँदा महिला वा बालबालिका जहाँबाट प्रारम्भ गरे पनि फरक पर्ने होइन । आमाभन्दा अघिल्तिर कुनै प्रारम्भ—बिन्दु भेटिँदैन भनेर त भन्नै परेन ।