ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम

ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम महिला विकास शाखाको पहिलो मुख्य अग्रसरता दर्साउने आयोजना थियो । शाखाको पहिलो आयोजना भने त्यो थिएन । पहिलो आयोजना त संयुक्त राष्ट्रसङ्घीय महिला दशकका लागि ऐच्छिक कोषको सहायता एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगमार्फत प्राप्त ग्रामीण महिलाको अर्थोपार्जन तथा श्रम बचाउने साधनका लागि प्रशिक्षक प्रशिक्षण नामको थियो ।

प्रारम्भमा नेदरल्याण्ड सरकारको सहयोग संयुक्त राष्ट्रसङ्घीय बालकोषमार्फत मिलेको उत्पादन ऋण व्यवस्था आयोजना २०३९ सालमा पाँच जिल्लामा परीक्षण गरियो । छैठौँ पञ्चवर्षीय योजना (२०३७–४२) कालसम्मलाई परीक्षण चरण मान्ने हो भने त्यस दौरान आयोजनाको फैलाउ छिटछिट्टै २५ जिल्ला पुग्यो । त्यसपछिका वर्षहरूमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास निकायजस्ता विकास साझेदारहरूले आयोजनाका विभिन्न पक्षमा सहयोग गरे ।

उत्पादन ऋण व्यवस्था आयोजनाको विस्तार सालैपिच्छे जारी रहेर २०४६ सालमा ४९ जिल्ला पुग्यो । विकासका अरू साझेदारहरूले भने छुट्टै अग्रसरतालाई सघाउन चाहे । एशियाली विकास बैङ्कको सहायताप्राप्त महिला लघु वित्त आयोजना उदाहरण हो । उत्पादन ऋण व्यवस्था आयोजना ५८ जिल्लासम्म फैलिएर २०५४ साल पुसतिर कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको सहायता रहँदासम्म चल्यो ।