इतिहास

अन्तर्राष्ट्रिय नारी वर्ष (१९७५) र संयुक्त राष्ट्रसङ्घीय नारी दशक (१९७६–८५) ले विश्वव्यापी रूपमै महिलालाई विकासको मूलप्रवाहमा ल्याउने कार्यकलापको लहर सृजना गर्‍यो । मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष विश्व महिला सम्मेलन आयोजना गरेर मनाइयो । न्यु योर्कमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, १९७९ ग्रहण गरियो ।

काठमाडौँमा पनि नयाँ पहलहरू भए । सन् १९७९–८१ भरिमा नेपालमा महिलाहरूको मर्यादास्तरविषयक अध्ययनको शृङ्खला सम्पन्न गरियो । देशको छैठौँ राष्ट्रिय योजना (२०३७–४२) मा पहिलोपल्ट विकास कार्यमा महिला सहभागिता प्रवर्धन गर्ने छुट्टै नीति देखा पर्‍यो ।

प्रारम्भका तिनै उत्साहप्रद दिनहरूमै महिला तथा बालबालिका विभागको आविर्भाव भएथ्यो । वि. सं. २०३८ मा तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत पछि महिला विकास कार्यक्रम भनी चिनिएको कार्यक्रम चलाउन आठ जना कर्मचारीसहित एउटा शाखा खडा गरियो ।

स्थापनाको लगत्तै महिला विकास शाखा कार्यस्थलमा क्रियाकलापहरू सञ्चालन गर्न अघि स¥यो । एकपछि अर्को जिल्ला ढाकिए र शाखाले प्रसारलाई सम्भव तुल्याउन आफ्नै स्थलगत शाखा स्थापना ग¥यो । आव २०५७।५८ सम्ममा ७५ वटै जिल्लामा कार्यालयहरू खुलेका थिए ।

यसैबीच २०४७ सालमा महिला विकास शाखाको महिला विकास महाशाखामा स्तरोन्नति गरियो । वि. सं. २०५६ मा महाशाखा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सारियो र उप्रान्त विभागको रूपमा पुनर्संरचित भयो ।

महिला विकास विभाग २०५७ साल असार २६ गते स्थापना भएको हो । नाममा पछिल्लो परिवर्तन २०६७ साल असोज १२ गते गरियो । जिल्ला एकाइहरू प्रारम्भमा महिला विकास शाखा र २०६० साल चैत २६ गतेपछि महिला विकास कार्यालय कहलाइए । हालै २०६७ साल असोजयता तिनको नाम पनि महिला तथा बालबालिका कार्यालय भनी परिवर्तन गरिएको छ ।