सशक्तीकरण पहुँच

महिला विकास अनभिज्ञ महिलालाई सशक्त तुल्याउने कार्यक्रम हो । सशक्तीकरण शून्यतामा भने हुँदैन । त्यसका लागि कार्यकलाप चाहिन्छ । कार्यकलापमा आधारित सशक्तीकरणमा गर्न सिक्ने र साथै गरेर सिक्ने प्रक्रियाहरू हुन्छन् । कार्यक्रमको पहुँचका कैयन् विशेषता पहिल्याउन सकिन्छ ।

शैक्षिक : कार्यक्रमअन्तर्गत सहभागीहरू जीवनपर्यन्त सिकाइको प्रक्रियामा भर्ना भएझैँ मानिन्छन् । अनेक प्रकारका विषयहरू, जसमध्ये केही सबैलाई अनिवार्य पर्दछन्, राखिएका हुन्छन् । रेखाङ्कन अभ्यास, अध्ययन डेरा, परामर्श कार्यशालाजस्ता उपायद्वारा पनि सिकाइका अवसर सृजना गरिन्छन् ।

सँगातीय : सशक्तीकरण व्यक्तिको त हुन्छ तर प्रक्रिया व्यक्तिगत हुँदैन । समर्थन, विरोध, सराहना, आलोचना, कर, लाज, प्रेरणा, डर, दबाब र प्रतिकारसहतिको चुनौतिपूर्ण, तुलनात्मक एवं प्रतिस्पर्धात्मक सँगातीमाझ नै सशक्तीकरण हुने हो । त्यसउसले व्यक्तिहरूलाई समूह र समूहका सङ्घमा सङ्गठित गरेर आपसी सङ्गतमा राखिन्छ ।

नदिइएको : गतिविधिका अर्थमा सहजकर्ता अनभिज्ञ हुन्छिन् अथवा भन्ने मानिन्छ । केही प्राथमिक कार्य सकिनासाथै महिलालाई आफैले छानेका क्रियालकलापहरूमा संलग्न हुन प्रोत्साहन दिइन्छ । सशक्तीकरणको उद्देश्यले सञ्चालन गरिने भएकाले क्रियाकलापहरू शैक्षिक आयोजनाझैँ हुन्छन् । त्यसकारण विभागले घरेलु अचाक्लीविरोधी अभियानदेखि फूलखेतीको व्यवसायीकरणदेखि कार्यालय भवनको निर्माणसम्मका जुनसुकै पहलहरूलाई बराबरै सम्झेर सहयोग गर्दछ । सिद्धान्ततः विभागले कुनै पहल सफल भयो, भएन भन्ने मतलब राख्दैन । असफलै प्रयास पनि असाध्दे शक्तिदायी हुन सक्तछ ।

सामाजिकआर्थिक : सशक्तीकरणका सामाजिक—आर्थिक पक्षहरू सँगसँगै राखिन्छ । यहाँ तीनोटा कार्यमूलक बुँदा दिइएका छन् :

  • सामाजिक भूमिका विस्तार गरेर दैनिक जीवन फेर;
  • आर्थिक गतिविधि बढाएर अभावको घेराबाट निकास लेऊ र
  • सङ्गठित कार्यकलापलाई बढवा दिएर विभेदविरोधी सामाजिक शक्ति सिर्जना गर ।

सहभागितामूलक : समूह सदस्यहरूलाई सेवाका प्रापकको रूपमा होइन, सर्जकको रूपमा हेरिन्छ । सहभागिताको प्राथमिक मञ्च वडा तहमा खडा गरिन्छ, जहाँ त्यस क्षेत्रका सारा समूह सदस्य प्रत्येक महिना जम्मा हुनुपर्दछ । कार्यसूचीको के कुरा : आफूलाई व्यक्त गर्नुहोस्, अर्काका कुरा सुन्नुहोस्, मुद्दामा आफ्नो पक्षबाट अनि अर्काको पक्षबाट पनि हेर्नुहोस्, सम्भावनाहरूको सर्भेक्षण गर्नुहोस् र अफ्नो परिप्रेक्ष्य फराकिलो पार्नुहोस् । कार्यसूचीमा ‘गर्ने’ खालका विषय त पर्ने नै भए । सशक्तीकरण प्रभावका अर्थमा भने ती ‘सोच्ने’ खालका विषयभन्दा कम महत्वका हुन्छन् ।

संयोजित : ‘आफै गर’ भन्ने नियम जताततै लाग्दछ र पनि महिलालाई एक्लै पारिन्न । उनीहरूलाई जिल्लाबाट पटक—पटक गाउँ आउने विभागीय सहजकर्ताले साथ दिइरहेकी हुन्छिन् । निकटवर्ती, सङ्गती, समर्थक, प्रशंसक एवं अनुकरणीय हुने भएकीले सहजकर्तासँग अपेक्षाको शक्ति हुन्छ । नफड्कियोस् भनेर उनी समूहको पछि—पछि दगुर्दछिन् ।